पर्सा – सर्लाही लालबन्दी नगरपालिका-१ घर भई काठमाडौं गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्या गरी साथमा रहेको सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज महानगरपालिका-७ रामटोल बस्ने २५ वर्षीय राहुल महर्जन, सोही ठाउँ बस्ने २७ वर्षीय विक्की भन्ने दीप लामा तामाङ र बारा फेटा गाउँपालिका-३ बस्ने २७ वर्षीय धनञ्जय रजक रहेका छन् ।

उनीहरू ३ जना र भारत मोतीहारी घर भई वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने रवि सर्राफ गरी ४ जनाले लुटपाट गर्ने योजना बनाई राहुलको साथी ज्ञानु पाख्रिनलाई वीरगञ्ज बोलाएको, साउन १३ गते साँझ दुई जना साथीसहित ज्ञानु बीरगञ्ज पुगपछि ७ जना दीप लामाको खाली घरमा मादक पदार्थ सेवन गरी बसेको र साउन १४ गते बिहान काठमाडौंबाट आएका २ जनालाई सोही स्थानमा छोडी ज्ञानुलाई थप बियर किन्ने बहाना गरी रामटोलको खाली जग्गामा लगि घाँटीमा लक लगाई अँठ्याई ज्यान लिई मृतकको साथमा रहेको उक्त धनमाल लुटेको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै लुटपाट गरेको धनमाल रवि सर्राफले राखी तत्काल फरार भएको र अन्य तीन जना भागी फरार हुने क्रममा नियमित गस्तीमा घटनास्थल नजिक पुगेको प्रहरी टोलीले उनीहरुलाई तत्काल पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा दीप लामाले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तथा लुटपाट गरेको अन्य धनमाल लिई फरार भएका रविको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।