बालकोट सहकारीको २३औँ वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर – बालकोट बचत तथा ऋण सहकारी संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिवार मध्यपुरथिमि नगरपालिकाको कौशलटारस्थित व्हाइट पार्टी प्यालेसमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाको उपप्रमुख सरिता तिम्सिना भट्टराईले सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउनु हुँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा सहकारी संघसंस्थाहरूको नकारात्मक समाचार आइरहेपनी सबै सहकारीहरूमा अनियमितता नरहेको र सहकारीले मुलुकको आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्याएको उहाँको भनाइ थियो ।
बालकोट सहकारीका अध्यक्ष एवम् सभाका सभापति निरोज कुमार कार्कीले सहकारीले पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले बालकोट सहकारी संस्था सधैँ आफ्ना बचतकर्ताहरूका लागि समर्पित भएर काम गरेको उल्लेख गर्नुभएको थियो ।
संस्थाका सचिव निर्मला बरालले सहकारी संस्थाको प्रतिवेदन पेस गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो ।
वार्षिक २३ औँ साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत, लेखा समितिको प्रतिवेदन प्रस्तुतसँगै छलफल सहित सहकारी संस्थाले सेवाग्राहीलाई दिने सेवा सुविधा र वार्षिक गतिविधिबारे बृहत् छलफलका साथै समीक्षा गरिएको थियो ।
सभामा कोषाध्यक्ष जयराज पौडेलले आ.व. ०८०/८१ को आर्थिक प्रतिवेदन र कार्य योजना समेत प्रस्तुत गर्नुभएको थियो । सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताउनुभयो ।
सहकारीका उपाध्यक्ष सुमन महर्जनले स्वागत मन्तव्य दिइएको कार्यक्रमको सञ्चालन चन्द्रकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने सभामा नगरपालिकाका सहकारी विभाग प्रमुख राजेन्द्र कुमार श्रेष्ठ, सहकारी विद्ध उद्बब चौलागाई, नेफ्सकुन लेखा सदस्य दुर्गा सन्जेल, राष्ट्रका लागि दुई घण्टा अभियानका अध्यक्ष मधु ढुङ्गेल, बङ्गलामुखी सहकारीका अध्यक्ष विवेक श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाका सभापति दिवाकर सिलवाल, सूर्यविनायक नगरपालिका-२ बालकोटका वडा अध्यक्ष प्रदीप कार्की, वडा नं ३ का अध्यक्ष दीपेन्द्र केसी, जिल्ला बचतका कोषाध्यक्ष कान्छा भक्त कोजु लगायतले सभाको सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।
बालकोट सहकारीले गत आर्थिक वर्षमा करिब ५० करोड बचत सङ्कलन गरी १ करोड १६ लाख नाफा गरेको र सहकारीमा गत आर्थिक वर्षसम्म ३ हजार ९ सय २६ सदस्यहरू रहेका थिए ।
संस्थाका अध्यक्ष एवम् सभाका सभापति निरोज कुमार कार्कीले अध्यक्षता गर्नु भएको वार्षिक साधारण सभामा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, बचतकर्ता लगायत सरोकारवालाहरूको बाक्लो उपस्थिति थियो।
आगामी दिनमा सहकारी संस्थाको विकाससँगै बचत र सेयर लगानीकर्ताको बचत सुरक्षित सहित भविष्यमा उत्कृष्ट संस्था बनाउन सबैको साथ र रचनात्मक सल्लाह सुझावको अपेक्षा पनि संस्थाले गरेको छ।