| बिहिबार, मंसिर १६, २०७८

यी हुन् सेयर बजारमा अर्ब भन्दा बढी ऋण लिएर लगानी गर्नेहरु

काठमाडौं । सेयर बजारमा ठुला लगानीकर्ता भनेर चिनिएकाले नै बैंकबाट अर्ब बढी कर्जा लिएर सेयर बजारमा लगानी गरेका छन् । बैंकबाट सेयर धितोमा आधा दर्जन लगानीकर्ताले अर्ब बढी कर्जा लिएर लगानी गरेको तथ्यांक सिंहदरबारले प्राप्त गरेको छ ।

सिंहदबारलाई प्राप्त विवरण अनुसार एक अर्ब रुपैयाँभन्दा बढी सेयर धितोमा कर्जा लिने ६ जना ऋणीहरु सेयर बजारका ठुला लगानीकर्ता नै हुन् । अर्ब बढी कर्जा लिने ऋणीहरुमा निर्मल प्रधान(सेयर बजारका बादशाह), मिनबहादुर गुरुङ्ग, स्नेहा खेतान, श्रवण कुमार गोलय, दिक्षान्त बाँनिया र रहिशा शाह श्रेष्ठ हुन् । यिनीहरुले विभिन्न बैंकहरुबाट गत असार मसान्तसम्म आफ्नो सेयर धितो राखी ७० प्रतिशतसम्म कर्जा लिएका हुन् ।

जसमा निर्मल प्रधानले १ अर्ब ९६ करोड, मिन बहादुर गुरुङ्गले १ अर्ब ५० करोड, दिक्षान्त बाँनियाँले १ अर्ब ३५ करोड, स्नेहा खेतानले १ अर्ब ३० करोड, श्रवण कुमार गोयलले १ अर्ब २३ करोड र रहिशा शाह श्रेष्ठले १ अर्ब रुपैयाँ सेयर धितो कर्जा लिएका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् एक व्यक्तिले कुनै एक बैंकबाट ४ करोड रुपैयाँ र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्ममात्र सेयर धितोमा कर्जा लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले सीमाभन्दा बढी सेयर धितोमा कर्जा प्रवाह गरेको भए २०७९ असार मसान्तसम्म सीमा भित्र ल्याउनु पर्ने छ ।

सेयर धितो राखेर बैंक तथा वित्त कम्पनीबाट बजार मूल्य वा १८० दिनको भारित औषत मूल्य मध्ये जुन कम हुन्छ त्यसको ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था छ । उक्त व्यवस्थामा रहेर गत असार मसान्तसम्म ८ हजार ५६६ जनाले सेयर धितो राखेर कर्जा लिइसकेका छन् ।

त्यसपछि भने बैंकहरुले राष्ट्र बैंकले तोकेको नयाँ व्यवस्थाअनुसार नै कर्जा प्रवाह गरेको बैंकर्सहरु बताउँछन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्म सेयर धितोमा १ करोड रुपैयाँसम्म ६ हजार ९१० जनाले, १ करोडदेखि ४ करोडसम्म १ हजार १४३ जनाले र ४ करोडदेखि १२ करोड रुपैयाँसम्म ३८० जनाले कर्जा लिएका छन् । यी ऋणीले बैंकबाट सेयर धितोमा राष्ट्र बैंकले तोकेको नयाँ सेयर नीतिको सीमामै रहेर कर्जा लिएका हुन् ।

सो अवधिमा सेयरधितोमा कर्जा लिएकामध्ये सीमाभन्दा बढी अर्थात् १२ करोड रुपैयाँभन्दा बढी १ सय ३२ जनाले सेयर धितोमा कर्जा लिएका छन् ।

जसमध्ये ६३ जनाले १२ करोडदेखि २० करोड रुपैयाँसम्म, ५८ जनाले २० करोडदेखि ५० करोड रुपैयाँसम्म, ६ जनाले ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म र ६ जनाले १ अर्ब रुपैयाँभन्दा बढी सेयर धितोमा कर्जा बैंकबाट लिएका हुन् ।

-सिंहदरबारबाट

प्रतिक्रिया दिनुहोस्