| शनिबार, बैशाख ८, २०८१

मौद्रिक नीतिका लागि राय र सुझाव माग

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) २०७८ र ७९ लाई लक्षित गर्दै मौद्रिक नीतिमा सरोकारवालाहरूबाट राय र सुझाव माग गरेको छ । केन्द्रीय बैंकले बिहीवार एक सूचना जारी गर्दै इमेल मार्फत सुझाव दिन सम्बद्ध सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

गत वर्षझैं साउन पहिलो सातातिर मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले सुझाव संकलन शुरू गरेको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले जानकारी दिए । सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म आवश्यक लिखित सुझाव पेश गर्नुपर्नेछ ।

आवश्यक सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना ‘मोनेटरीपोलिसी याट दि रेट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन उनले आग्रह गरेका छन् । साथै, बालुवाटारस्थित केन्द्रीय बैंकको उक्त विभागको ठेगानामा समेत सुझाव पठाउन सकिनेछ ।

केन्द्रीय बैंकमा केही संघसंस्थाले सुझाव पठाइसकेको कार्यकारी निर्देशक डा। श्रेष्ठले बताए । अन्य संस्थाबाट पनि सुझाव संकलन गर्न केन्द्रीय बैंकले सूचना मार्फत जानकारी दिएको हो । नेपाल उद्योग परिसंघ (सीएनआई)को बैंक तथा वित्तीय संस्था कमिटीले सुझाव दिन अध्ययनको तयारी गरिरहेको जानकारी दिएको छ ।

-आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्