| सोमवार, असार ७, २०७८

सतर्क भएर लगानी गर्न सुझाव

काठमाडौं, २६ जेठ – नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यानमा राखी सतर्क भएर लगानी गर्न पुनः सुझाव दिएको छ ।

यसअघि पनि बारम्बार सतर्क गराउँदै आएको बोर्डले मंगलवार पुनः सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । बजारको सिद्धान्तअनुसार बजार घटबढ हुने हुँदा लगानीसँगै जोखिम पनि हुन्छ भन्ने कुरालाई ख्याल गर्न बोर्डले भनेको छ ।

हाल धितोपत्र कारोबारको दोस्रो बजारमा ९० प्रतिशत कारोबार अनलाइनमार्फत हुँदै आएकोमा अध्ययन र अनुसन्धान गरेर मात्र लगानी गर्न बोर्डले भनेको हो ।

लगानी गर्दा सम्बद्ध क्षेत्र, उद्योग तथा कम्पनीहरूको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गरेर लगानी गर्न सुझाव दिएको छ । साथै, लहैलहैमा नलागी लगानीको निर्णय लिन बोर्डले अनुरोध गरेको छ ।

पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा कारोबार वृद्धिसँगै शेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासाहरू प्राप्त भएकाले यस विषयमा बोर्डले अध्ययन शुरू गरेको पनि बताएको छ ।

यस्तो अध्ययन सम्पन्न हुन केही समय लाग्न हुँदा धितोपत्रसम्बन्धी ऐन, २०६३ ले वर्जित गरेका क्रियाकलापमा संलग्न नहुनसमेत बोर्डले सबैलाई सजग गराएको छ ।

-आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्