| मङ्लबार, बैशाख ४, २०८१

चीनले आयात–निर्यातमा कडाइ गरेपछि व्यापारी दक्षिणतर्फ भर पर्न बाध्य

काठमाडौँ, २९ चैत – व्यवसायी नारायण घिमिरेले चीनसँग जोडिएको तातोपानी र रसुवागढी नाका छाडेर भारतको कोलकाता बन्दरगाहबाट सामान आयात गर्न थालेको पाँच वर्ष बितेको छ ।

तातोपानी नाकाबाट दुई दशक आयात व्यापार गरेका उनी उत्तरतर्फ मात्र भरपर्दा व्यवसायीले निकै ठूलो नोक्सानी व्यहोर्नुपरेको सुनाउँछन्  । उत्तरी नाकाबाट आयात व्यापार सहज हुन्छ भन्ने उनको विश्वास नै टुटेको छ । डेढ दशकदेखि तातोपानीबाट व्यवसाय गर्दै आएका नृप अधिकारीले पनि आयात व्यापारलाई दक्षिणी नाकामा केन्द्रित गरेका छन् । उनले आगामी जाडोयामका लागि चीनबाट झिकाउने सामानसमेत भारत हुँदै ल्याउने निर्णय गरेका छन् । चीनसँग जोडिएका नाकामा निर्भर हुँदा गत वर्ष लाखौं रुपैयाँ नोक्सानी व्यहोरेको उनले सुनाए ।

भूकम्प, बाढीपहिरो र कोभिडको बहानामा चीनले नेपाल जोडिएको नाकाबाट हुने आयात–निर्यात व्यापारमा कडाइ गरेपछि दक्षिणतर्फ भर पर्न बाध्य भएका घिमिरे र अधिकारी प्रतिनिधि व्यवसायी हुन् । व्यवसायीहरू चीनबाट हुने झन्डै ८० प्रतिशत व्यापार दक्षिणी बन्दगाहतर्फ ‘डाइभर्ट’ भएको अनुमान गर्छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलका अनुसार उत्तरी नाका प्रयोग गर्ने/नगर्ने सम्बन्धमा धेरै व्यापारी अन्योलमा छन् ।

उनले १० देखि १५ प्रतिशत व्यापारीले मात्र तातोपानी र रसुवाबाट सामान आयात गरिरहेको बताए । सामान्य अवस्थामा चीनबाट हुने व्यापारको ३५ प्रतिशत हिस्सा दक्षिणी नाकाबाट हुने गरेको अनुमान गरिँदै आएको थियो । भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले आयातको बाटो डाइभर्ट भए पनि त्यसको हिस्सा यकिन नभएको बताए । उनले उत्तरी नाकाबाट हुने व्यापार सहज बनाउने एजेन्डामा आफूहरू केन्द्रित भएको दाबी गरे ।

वर्षौंदेखि चीनमा बस्दै आएका नेपालीले अझै नेपालबाट उता जान पाएका छैनन् । बजारमै पुगेर सामान अर्डर गर्ने व्यवसायीलाई चीन जान अनुमति दिइएको छैन । उता जानै नपाउँदा सामान अर्डर गर्न कठिन भएको व्यवसायीको भनाइ छ । अर्कातर्फ उत्तरी स्थलमार्गबाट हुने व्यापारिक कारोबार भरपर्दो र विश्वासिलो छैन । त्यसैले अहिले तातोपानी र रसुवागढी नाकाबाट हुने आयात ह्वात्तै घटेको छ । चीनसँगको निर्यात व्यापार भने ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ ।

चीनसँग जोडिएका यी दुई नाकालाई मुलुकमा असजिलो पर्दा सहयोग पुग्ने वैकल्पिक मार्गका रूपमा हेरिने गरे पनि यो वा त्यो बहानामा सहज रूपमा सञ्चालन गरिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल २०१६ मार्चमा चीनसँग व्यापार तथा पारवहन सम्झौता भएपछि आयात व्यापारका लागि दक्षिणको एकलौटी वर्चस्व नरहने अनुमान गरिएकामा व्यवहारमा त्यस्तो अवस्था देखिएको छैन । भूकम्पपछि भारतले अघोषित नाकाबन्दी गरेका बेला तातोपानी नाका लगातार चार वर्ष बन्द रहेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्