राष्ट्रवादी चलचित्र ‘काँडेतार’ मा सरकारको अंकुश

काठमाडौं – राष्ट्रवादी चलचित्र ‘काँडेतार’ को प्रदर्शनीमा सरकारले रोक लगाएको छ । चलचित्रका केही संवाद र दृश्यहरूमा केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएको हो।
चलचित्र ‘काँडेतार’ नेपाल- भारत सीमामा हुने गतिविधिलाई लिएर केन्द्रीत छ। सामना फिल्मस् प्रालिद्वारा निर्मित यो फिल्म खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताले गरेको प्रतिरोधमा आधारित छ। सेन्सर पास नदिंदा चलचित्र ‘काँडेतार’ को प्रदर्शन अनिश्चित भएको छ।
केन्द्रिय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदीले भने,‘हामीले उहाँहरुलाई फिल्ममा भएका मिसटेकलाई सुधार गरेर ल्याउनु भनेका छौं। उहाँहरुले फिल्ममा करेक्सन गरेपछि सेन्सर पास हुन्छ। किनकी फिल्ममा दुई देशको कुरा छ।’
फिल्मका कलाकार र निर्देशक नवल खड्काले भने कुनै दृश्य नकाटी फिल्म पास हुनुपर्ने बताए। सेन्सर पास नभएमा न्यायको लागि अदालत जाने समेत खड्काले बताए।
फिल्ममा शिवन अधिकारी र नवल खड्काको लेखन रहेको छ।