| आइतवार, अशोज १६, २०७९

एमाले नेताको हत्या गर्ने पूर्वसांसद कुशवाहालाई संविधान दिवसमा आममाफी

वीरगन्ज – नेकपा एमालेका केन्द्रीय सदस्य महमुद आलमको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका संविधानसभा सदस्य रामचन्द्र कुशवाहा (प्यासी) रिहा भएका छन् ।

संविधानसभाको दोस्रो निर्वाचनको समयमा उम्मेदवारी दर्ता गराएको भोलिपल्ट २०७० असोज १८ गते बाराको परवानीपुरस्थित एक उद्योग अगाडि आलममाथि गोली प्रहार भएको थियो । घाइते आलमको असोज २४ गते उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।

प्रहरीले गोली प्रहार गर्ने दुई जनालाई पक्राउ गरी अनुसन्धान गर्दा हत्याको मुख्य योजनाकार प्यासी रहेको खुलासा भयो । अदालतले प्यासीलाई ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

कानुनमा ४० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई छाड्ने व्यवस्था छ, त्यसैको प्रयोग गरी संविधान दिवसको अवसरमा कुशवाहा रिहा भएका वीरगन्ज कारागारका जेलर मदन घिमिरेले बताए ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि कैदीहरुको नाममा राष्ट्रपतिकहाँ पठाइन्छ र  राष्ट्रपतिले स्वीकृति दिएपछि संविधान दिवसको दिनमा कैदीहरु रिहा हुने गरेका छन् ।

वीरगन्ज कारागारबाट सोमबार प्यासीसहित ३८ जना कैदीहरु रिहा भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्