| सोमवार, अशोज ११, २०७८

नियमविपरीत शेयर खरीद गर्ने बोर्ड अध्यक्ष र नेप्सेका महाप्रबन्धकमाथि अनुसन्धान

काठमाडौं – बुक बिल्डिङ विधिबाट बढी मूल्यमा सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरी नियमविपरीत काम गरेको आरोप लागेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्रसिंह साउदमाथि अर्थ मन्त्रालयदेखि अख्तियारसम्मले अनुसन्धान तथा छानविन अघि बढाएका छन् ।

बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरेकाबारे अर्थ मन्त्रालयले दुवै निकायलाई स्पष्टीकरण सोधेर अनुसन्धान अघि बढाएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसबारे अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

गत साउन १३ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र साउन १४ मा नेपाल स्टक एक्सचेन्जलाई यसबारे यथार्थ के हो, त्यसको स्पष्ट, तथ्यपरक जवाफ ३ दिनभित्र पेश गर्न पत्र काटेर भनेको थियो । अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष तथा नेप्सेका महाप्रबन्धकसँग स्पष्टीकरण नमागी बोर्ड र नेप्सेका नाममा पत्र पठाएको थियो ।

अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अधिकारीहरूका अनुसार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले स्पष्टीकरण बुझाएका छन् । छोरी तथा श्रीमतीले शेयर खरीद गरेको तर भित्री कारोबार भने नगरेको बेहोरासहितको दुवै निकायले स्पष्टीकरण बुझाएको अर्थ स्रोतको दाबी छ ।

नियामक संस्थाका प्रमुख जस्तो व्यक्तिले व्यक्तिगत लाभका लागि कानूनविपरीत छोरी तथा श्रीमतीको नाममा शेयर खरीद गरेको बारे अख्तियारले समेत चासो देखाएको छ । यसका लागि अख्तियारले उजुरी यकिन गर्दै छ ।

सर्वोत्तम कम्पनीको ११ हजार ९१२ कित्ता शेयर धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुगांनाको छोरी रेविका ढुंगाना र सोही बरारको शेयर नै नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोराको नाममा रहेको प्रमाणसहित समाचार प्रकाशित भएको थियो ।

-आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्