| शनिबार, बैशाख ८, २०८१

बाह्र वर्षपछि सरकारको नाममा आयो आठ रोपनी जग्गा

काठमाडौं, ३१ वैशाख – काठमाडौंको अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको नाममा रहेको जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको हो ।

अनामनगर धोबीखोलानजिकको ७ रोपनी ७ आनाभन्दा बढी सरकारी जग्गा हरिप्रसाद गिरीलगायतले हडपेका थिए । जग्गा विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको थियो । अख्तियार अनुसन्धानमा सरकारी जग्गा व्यक्तिको नाममा रहेको पाइएपछि ९ मंसिर २०६५ मा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो ।

अख्तियारले दूषित दर्ता गराएको आरोपसहित सामाजिक विकास समाजको उजुरीका आधारमा छानबिन गर्दा हरिप्रसाद गिरी, टेकबहादुर पौडेललगायत व्यक्तिका नाममा सरकारी जग्गा घुसेको ठहर गरेको हो । अख्तियारको अनुसन्धान आधारमा मालपोत कार्यालय डिल्लीबजारले सरकारी जग्गा व्यक्तिको नाममा दूषित दर्ता गराएकाको नाममा सूचना जारी गरेको थियो ।

सार्वजनिक सरकारी जग्गा ‘जो जसको नाममा जुनसुकै तरिकाबाट दर्ता वा भोगकायम भएको भए पनि त्यस्तो जग्गा जहिले पनि नेपाल सरकारको नाममा कायम हुन सक्ने’ व्यवस्था मालपोत ऐन २०३४ को दफा २४(२)ले व्यवस्था गरेको छ । अख्तियारको निर्देशनमा मालपोत कार्यालयले मालपोत ऐनको दफा २४(२) ले गरेको व्यवस्थाअनुसार सूचना जारी गरेको थियो ।

तर, जग्गा हडप्नेमध्येका हरिप्रसाद गिरी, टेकबहादुर पौडेल कुलबहादुर निरौला, मोहन महर्जनलगायतले अख्तियारले गरेको निर्णय खारेजी माग गर्दै २०६६ सालमा सर्वोच्च अदालतमा रिट दर्ता गरे । उनीहरूद्वारा दायर रिटमा सर्वोच्चले २०७४ मा अन्तरिम आदेश जारी गर्दै ‘तत्काल यथास्थितिमा राख्न र निर्णय कार्यान्वयनमा नल्याउन’ भन्यो ।

सर्वोच्चको आदेशका कारण व्यक्तिले मिचेको सरकारी जग्गा कार्यान्वयनमा ल्याउन समस्या भएको थियो । गत महिना मात्रै सर्वोच्चले जग्गा हडप्नेको रिट खारेज गर्दै ‘व्यक्तिले हडपेको जग्गा सरकारको नाममा ल्याउन’ आदेश जारी गरेपछि मालपोत कार्यालय डिल्लीबजारले कानुनी आधार प्रयोग गर्दै सो जग्गा सरकारको नाममा फिर्ता ल्याएको हो ।

अख्तियारका अनुसार तत्कालीन कामनपा–१० सिट नं १०२–११०६ २२ किनं ६६ क्षेत्रफल ०–२–३–२ पर्तीमध्ये तथा किनं १०७, किनं १५६, ५४९, ४३१, ४३३, ४४७ मा विभिन्न क्षेत्रफलमा सरकारी जग्गा व्यक्तिको नाममा घुसाइएको पाइएको थियो । यसैगरी, त्यस क्षेत्रमा रहेको किनं ४४९, २६२, २६३, २६४ लगायत दर्जनांै कित्तामा सरकारी जग्गा घुसाएर हडपेको पाइएको अख्तियारले गरेको अनुसन्धानमा खुलेको थियो ।

व्यक्तिको नाममा दर्ता गर्ने यी हुन् अख्तियार छानबिन प्रतिवेदनअनुसार ८ आना सरकारी जग्गा अक्सिडेन्टल पब्लिक स्कुलका सञ्चालकद्वय टेकबहादुर पौडेल र कुलबहादुर निरौलाका नाममा दूषित दर्ता भएको थियो । त्यस्तै, ६ आना धोबीखोला नदी उकासको सरकारी जग्गा अग्निप्रसाद पौडेलको नाममा दूषित दर्ता भएको थियो ।

धोबीखोला नदी उकासको ४ आना सरकारी जग्गा हरिप्रसाद गिरीले घुसाएर खाएको अख्तियारको ठहर छ । शान्ता दाहालको नाममा १ दाम सरकारी जग्गा घुसेको छ । ३ आना दुई दाम सरकारी जग्गा बन्दना भट्टराई नाममा गएको अख्तियाको छानबिन प्रतिवेदनमा उल्लेख छ । छानबिन प्रतिवेदनअनुसार खोलाको सरकारी जग्गा मालपोत कार्यालय कर्मचारीको मिलेमतोमा सविता श्रेष्ठको नाममा २ आना, मोहन महर्जनको नाममा २ आना, जग्गा दूषित दर्ता भएको छ ।

सरमिस्ता मिश्रको नाममा करिब १० आना, कमानसिंह लामाको नाममा करिब ४ आना, हेमा थापाको नाममा १ आना, अम्बरबहादुर पाण्डेको नाममा १ आना, निर्मला उप्रेतीको नाममा ५ आना, सिद्धिबज्रको नाममा ७ आना, बालकुमारी बाँस्कोटाको नाममा ५ आना सरकारी जग्गा घुसाएर दूषित दर्ता गरेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, ज्ञान उपाध्यायसमेतको नाममा १४ आना, तारानाथ लुइँटेलको नाममा ५ आना, विजय तण्डुकारको नाममा ३ आना, सुशीला शाक्यको नाममा ५ आना सरकारी जग्गा व्यक्तिको नाममा गएको अख्तियारको छानबिन प्रतिवेदनको निष्कर्ष छ । यी सबै जग्गा सरकारको नाममा फिर्ता आएको छ ।

-राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्