| बुधबार, कार्तिक १२, २०७७

चीनले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्छ

काठमाण्डौं, ७ आश्विन – नेपालका केही सञ्चार माध्यमले हुम्लामा रहेको नेपाली भूभागमा चीनले भवनहरु निर्माण गरेको भन्दै झुठो समाचार सम्प्रेषणको  चीन सरकारले उक्त कुराको खण्डन गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ्ग सियालोङ्गले मंगलबार एक विज्ञप्ति जारी गर्दै चीनले नेपालको भौगोलिक अखण्डताको सधै सम्मान गर्ने बताउनु भयो । हुम्ला स्थित लाप्चाबगरमा चीनले नेपाली भूभाग अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनले यस्तो  विज्ञप्ति बाहिर ल्याएको हो ।

तस्विरमा देखाइएका घरहरु चीनतर्फका भू-भागमा पर्ने बताउँदै प्रवक्ता वाङ्गले नेपाली पक्षद्वारा उक्त क्षेत्रको पुनःअवलोकन र प्रमाणीकरण गर्न चीन सरकार तयार रहेको बताउनु भएको छ । प्रवक्ता वाङ्गले नेपाल र चीनबीच सीमाका विषयलाई कुनै विवाद नरहेको र सीमा व्यवस्थापनमा दुई देश निरन्तर सम्पर्कमा रहेको बताउनुभयो ।

नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ ।

चिनियाँ दूतावासका प्रवक्ताको छोटो विज्ञप्ती :

‘चीन र नेपाल मित्रवत छिमेकी हुन् । चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ ।

मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ । नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्ने छ । चीन र नेपालबीच सीमा विवाद छैन । दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन् ।’

प्रतिक्रिया दिनुहोस्